Home » , » आँखाको उपचारमा महिनावारीको सोधपुछ ! युवतीहरुलाई उपचारका लागि कार्यालयमा होइन क्वार्टरमा बोलाउने

आँखाको उपचारमा महिनावारीको सोधपुछ ! युवतीहरुलाई उपचारका लागि कार्यालयमा होइन क्वार्टरमा बोलाउने

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

काभ्रे - जिल्लाको विकट गाविस घर्तीछापमा सर्वसाधारणहरू आँखाको उपचार गर्न जाँदा स्वास्थ्य चौकीका इन्चार्जले महिनावारी सोधेर हैरान पार्ने गरेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयमा उजुरी बोकेर आएका स्थानीयहरूले कार्यालय प्रमुख डा. राजेन्द्रप्रसाद शाहलाई जानकारी गराएअनुसार स्वास्थ्य चौकीमा उपचार गर्न जाँदा ‘महिनावारी कहिले भयो? तल्लो पेट दुख्छ कि दुख्दैन’ भन्दै भर्खरका युवतीहरूलाई साँझ आफ्नै क्वार्टरमा उपचारका लागि आउन भन्ने गरेका छन्।

घर्तीछाप स्वास्थ्य चौकीमा विगत २ वर्षदेखि कार्यरत सिनियर अहेब छैटौं तहका गंगेश्वर झाले आँखा वा अन्य उपचार गर्न स्वास्थ्य चौकी पुगेका विशेष गरी भर्खरै महिनावारी हुन शुरू गरेका बालिका तथा विदेश गएका श्रीमान्का पत्नीहरूलाई महिनावारीका बारेमा, तल्लो पेट दुख्ने तथा अन्य विषयमा सोधखोज गर्ने र कार्यालय समय सकिएलगत्तै आफ्नो निवासमा बोलाउने गरेको भन्दै बिहीबार उजुरी परेको छ।

उजुरीमा झाकै कारण स्थानीयहरूबीच झडपसमेत भएकाले जिल्ला स्वास्थ्य कार्यालयले उपचारका लागि खटाएका कर्मचारीबाट झडप सिर्जना भई घाइते भएपछि कारबाहीको माग गरिएको छ।

स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठक मंसिर २३ गते दिउँसो झाले बोलाएको स्थानमा स्थानीय रविन वाइबा, जितेन्द्र वाइबालगायतका युवाहरूले व्यवस्थापन समितिका सदस्य अमरबहादुर अस्तानीलाई आक्रमण गरी घाइते बनाएका थिए।

गाउँ विकास समितिबाट प्राप्त रकम २ लाख ५० हजार बेरुजु देखिएको र घर्तीछाप गाउँ विकास समितिलाई पूर्ण खोपमुक्त गाविस घोषणा गर्ने विषयमा छलफल शुरू हुँदै गर्दा झालाई हटाउन खोज्ने र अनियमितताको आरोप लगाउने तिमीहरू नै होइनौ? झालाई हटाएर मात्रै देखाऊ भन्दै एक्कासि आक्रमण गरेको घाइते अमरबहादुरले बताउनुभयो।

अमरबहादुरसहित व्यवस्थापन समितिका अधिकांश व्यक्तिहरू तत्काल झालाई कारबाहीको माग गर्दै जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएका छन्। अमरलाई कुटपिट गर्न थालेपछि रोक्न गएका समितिका सदस्यहरू दिलमाया आले, रविनमाया अस्तानीलगायतलाई लछारपछार गरेका थिए। उनीहरूले प्रयोग गर्ने मोबाइलसमेत फुटेको रविनमाया अस्तानीले बताउनुभयो।

‘झाले स्वास्थ्य चौकीमा निःशुल्क पाइने औषधीसमेत साँझ परेपछि निवासमै निजी क्लिनिक खोलेर बेच्ने गरेका छन्’, रविनामायाले भन्नुभयो– ‘एउटा स्लाइनको ९ सय रुपियाँसमेत लिने गरेका छन्।’ ‘पैसा हुनेको मात्रै उपचार गर्ने र नहुनेलाई सक्दिनँ भन्दै झर्केर पठाउने गरेका छन्, अझ बिरामीलाई के भयो भनेर सोध्नुभन्दा पहिले नै उनले पैसा कति ल्याएको छ भनेर सोध्ने गरेका छन्।’ –सदस्य दिलमायाले भन्नुभयो।

झाका विरुद्ध स्थानीयहरू एकजुट भए पनि केहीले झाको पक्षमा लागेर आफूहरूलाई आक्रमण गरेको भन्दै कानुनी र कार्यालयका तर्फबाट कारबाहीको माग गरिएको स्थानीय हस्तिमाया राना मगरले जानकारी दिनुभयो।

अहेब झा यसअघि पनि यस्तै विषयमा काभ्रेकै ताल्ढुंगा र कोसिपारी गाविसबाट लखेटिएका थिए।


‘हामी सम्मानसाथ उहाँलाई फिर्ता भएको हेर्न चाहन्छौं, उहाँलाई स्थानीयहरूले केही गरेमा व्यवस्थापन समिति जिम्मेवार हुन सक्दैन, तत्काल फिर्ता बोलाएर गाउँमा उपचार गराउनुस् झडप होइन।’– जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख शाहलाई सदस्यहरूले अनुरोध गरे। कार्यालयले तत्काल उनको बारेमा बुझ्ने बताए पनि कारबाही गर्न नसक्ने जवाफ दिएर पठाएको छ। स्थानीयहरू कार्यालयले कारबाही नगरे आफैं कारबाही गर्ने भन्दै केही दिन कार्यालयको कारबाहीको पर्खाइमा रहने जानकारी दिएका छन्।

व्यवस्थापन समितिका अध्यक्ष गाउँ विकास समितिको सचिव हुने भए पनि बैठकका बारेमा झाले सचिवलाई जानकारी नै नदिएको स्थानीयहरूले बताए। बैठकमा सचिव शम्भु सापकोटा उपस्थित थिएनन्। आजको नेपाल समाचारपत्रमा मोतीराम तिमल्सिनाले लेखेको खबर छ ।






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1zdhJVE

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved