Home » , » रुपन्देही : स्वास्थ्य केन्द्र बन्द हुँदा सर्वसाधारण मर्कामा

रुपन्देही : स्वास्थ्य केन्द्र बन्द हुँदा सर्वसाधारण मर्कामा

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

swasthya khabar तिलोत्तमा (रुपन्देही), २९ असोज । गरिब तथा असहायलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ जापान सरकारको सहयोगमा १० वर्षअघि सञ्चालनमा आएको रुपन्देहीको गङ्गोलियामा रहेको बिपी ग्राम स्वास्थ्य उपचार केन्द्र सेवाविहीन भएको छ ।


व्यवस्थापन समिति तथा सरोकारवालाको चरम लापरबाहीका कारण गङ्गोलिया गाविस–२ पिपरहियामा रहेको पाँच शय्याको स्वास्थ्य उपचार केन्द्र दुई वर्षदेखि सेवाविहीन भएको स्थानीयवासीको आरोप छ ।


स्थापनासँगैको केही वर्ष सामान्य शल्यक्रियासहितको सेवा प्रदान गर्नुका साथै समयसमयमा चिकत्सकद्वारा स्वास्थ्य शिविरसमेत सञ्चालन गर्ने स्वास्थ्य केन्द्र यतिबेला भने आफै थला परेको बिरामीसरह भएको छ ।


स्वास्थ्यको पहुँचबाट टाढा रहेका रुपन्देहीका पूर्वी तथा दक्षिणी ग्रामीण भेगका गङ्गोलिया, हाटी फर्साटिकर, पड्सरी (हाल तिलोत्तमा नगरपालिकाअन्तर्गत)का साबिक मधौलिया र मक्रहर गरी आधा दर्जनभन्दा बढी गाविसका गरिब तथा असहायलाई लक्षित गरी सञ्चालनमा ल्याइएको स्वास्थ्य केन्द्र अलपत्र अवस्थामा पुगेको हो ।


उपचारका लागि दैनिकजसो बिरामीको भीडभाड लाग्ने स्वास्थ्य केन्द्र अहिले सुनसान देखिन्छ । पाँच बिघा क्षेत्रफलमा फैलिएको केन्द्रको परिसर स्थानीयका लागि पिकनिक स्पट तथा गौचरनका रूपमा प्रयोग हुँदै आएको छ ।


स्वास्थ्य केन्द्रबाट सरल र सहज रूपमा लाभान्वित हुँदै आएका सर्वसाधारण सेवाविहीन हुँदा सामान्य उपचारका लागिसमेत टाढाटाढा धाउनुपर्ने बाध्यता भएपछि प्रत्यक्ष मर्कामा परेका छन् । लाखौँको लागतमा निर्मित भवन उपयोगहीन भएको छ भने प्रयोगशालामा रहेको अल्ट्रासाउन्ड, अटो क्ल्याप, मोनिटर, इएनटी सेट, बिपी सेट, स्टेथेस्कोप, नेबोलाइजर, इसिजी मेसिन लगायतका लाखौँ मूल्य पर्ने अत्याधुनिक स्वास्थ्य परीक्षणका सामग्रीसमेत प्रयोगहीन अवस्थामा थन्किएको छ ।


घरदैलोमै रहेको स्वास्थ्य केन्द्र सेवाविहीन हुँदा आफूहरूलाई सामान्य उपचारमा समेत समस्या पर्ने गरेकाले स्वास्थ्य केन्द्र सञ्चालनका लागि अब स्थानीयस्तरबाटै पहल गरिने स्थानीय पोषकान्त बस्यालले बताए ।


तत्कालीन योजनाअनुसार स्वास्थ्य उपचार केन्द्रसँगै मल बीउबिजन केन्द्र, सञ्चार केन्द्र, खानेपानी तथा सरसफाइको व्यवस्था लगायतका विभिन्न सामाजिक उद्देश्यसहित सञ्चालनमा ल्याउने भनिएको केन्द्र अहिले भने सेवाविहीनमै सीमित भएको छ ।


स्थानीयस्तरमै पर्याप्त भौतिक संरचना तथा स्वास्थ्य परीक्षण सामग्रीसहित स्थापना भएको स्वास्थ्य केन्द्र सञ्चालनका लागि सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ । रासस






Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1Cjv0eP

Posted via IFTTT
Loading...

भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस

Share this News :
 
Support : Copyright © 2013. Nepal News Video - All Rights Reserved