भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
बेनी (म्याग्दी) - जिल्लाका ग्रामीण तहसम्म पनि स्वास्थ्य सेवाको पहुँच बढेपछि धामीझाँक्रीले गर्ने उपचार विधिमा पनि परिवर्तन आउन थालेको छ ।
म्याग्दीका धामीझाँक्रीले आफूकहाँ आउने बिरामीलाई सम्झाइबुझाई गरेर स्वास्थ्य संस्थामा पठाउन थालेको हो ।
पहिलेपहिले आफैँले रोग निको पार्ने दाबी गर्ने उनीहरूले पछिल्लो समय भने कडा किसिमका बिरामीलाई मात्र होइन झारफुकका लागि आफूकहाँ आउने सबै बिरामीलाई स्वास्थ्य संस्थामा पठाउन थालेका हुन् ।
आफूले जानेको गर्ने तर जोखिम मोलेर उपचार नगर्ने, घरमा आएकालाई आफूले सामान्य झारफुक गर्ने र अस्पताल जान सल्लाह दिने गरेको उनीहरू बताउँछन् ।
उनीहरूका अनुसार ज्वरो आउने, घाँटी दुख्ने, पेट दुख्नेलगायतका बिरामी आफूहरू कहाँ आउने गरिएका छन् । विगत ५ वर्षदेखि झारफुक गर्दै आएकी मनमाया बुढाथोकीले आफूकहाँ आउने बिरामीलाई अस्पतालमा जाने सल्लाह दिए पनि कतिपय बिरामीले झारफुक गर्न बाध्य पार्ने गरेका र झारफुकपछि निको भयो भन्ने गरेका बताए ।
धामीझाँक्रीकामा उपचार गराउँदा कम खर्चिलो हुने र आफ्नो रोग केही मात्रामा ठीक पनि भएकाले धामीझाँक्री बसाल्ने गरेको उनीहरू कहाँ उपचारका लागि जानेहरूको भनाइ छ । बालबच्चा, आमाको पोषण र सरसफाइको स्थितिमा सुधार ल्याउने उद्देश्यले मिलन म्याग्दीद्वारा जिल्लामा सञ्चालन भएको बहुक्षेत्रीय पोषण कार्यक्रम सुआहाराको सहयोगमा जिल्ला स्वास्थ्य कार्यालयले धामीझाँक्री, वैद्य तथा धार्मिकगुरुलाई तालिम दिएपछि धामीझाँक्रीमा यस्तो परिवर्तन आएको हो । रासस
Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1z6mAei
Posted via IFTTT