भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
झाङ्गिँदो समलिङ्गी मायाजाल
नेपाली समाजमा पनि थुप्रै यस्ता मानिस छन् जो समान लिङ्ग भएका व्यक्तिलाई आफ्नो प्रेमी वा प्रेमिका मानेर 'लिभिङ टुगेदर' बसिरहेका छन्। नेपालमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिइएको छैन। कानुनले छेके पनि समलिङ्गीहरू लुकिछीपी यौन साथी बनेर लिभिङ टुगेदर बस्न रुचाउँछन्। 'लिभिङ टुगेदर'ले कानुनी मान्यता पाए पनि समलिङ्गी प्रेम र विवाहले भने मान्यता पाएका छैन, तर पनि प्रेम र यौनका लागि 'लिभिङ टुगेदर' बस्ने यस्ता जोडीहरू समाजमा प्रशस्तै भेटिन्छन्। नेपालमा करिब ५ सयदेखि ८ सय जोडी 'लिभिङ टुगेदर' बसिरहेका छन्, तर अधिकांशको सम्बन्ध गुपचुप छ। कानुनबाट बर्जित र फरक यौनजीवन बिताइरहेका यस्तै केही जोडीले साप्ताहिकसँग खुलेर आफ्नो अनुभव साटेका छन्।
प्रेमकुमारी र उषा
स्वयम्भूका प्रदीप शाहीसँग करिब १२ वर्षअघि विवाह-बन्धनमा बाँधिएकी उषा शाहीलाई आफू समलिङ्गी भएको तथ्य विवाह भएको लामो समयसम्म पनि पत्तो भएन। श्रीमानसँगको प्राकृतिक यौन सम्पर्कमार्फत उनकी छोरी जन्मिसकेकी थिइन्। वर्षौंसम्म श्रीमान्सँग सन्तुष्ट नभए पनि पीडा लुकाएर बसेकी उषा आफ्नै घरमा डेरा गरेर बस्ने काभ्रेकी प्रेमकुमारी नेपालीसँग नजिकिन थालेपछि मात्र समलिङ्गी भएको अनुभूति गर्न थालिन्। प्रेमकुमारीसँग एकाएक प्रेम झाङ्गएिपछि उनीहरूको पहिचान छताछुल्ल भयो। प्रेमकुमारीसँग भावनात्मक रूपमा नजिकिन थालेपछि श्रीमान्सँग उषाको मनमुटाव सुरु भयो। प्रेमकुमारी र उषा यौनसाथी बनिसकेका थिए। उषाका श्रीमान् बाहिर गएको समयमा उनीहरू दिनभर एउटै कोठामा बसेर भावना र माया साटासाट गर्थे। 'भेट नहुँदा पनि एसएमएस आदान-प्रदान हुन्थ्यो,' पाइन्ट र टिसर्टमा सजिएकी प्रेमकुमारीले भनिन्। यी दुईको प्रेम र यौनसम्बन्धमा टीकाटिप्पणी हुन थालेपछि घटनाले सार्वजनिक रूप लियो।
प्रेमकुमारीले भनिन्- 'हुँदा-हुँदा हामी एक-अर्काबिना बाँच्नै नसक्ने भैसकेका थियौं, 'चुम्बन गर्दा र अँगालोमा कसिँदा हामीलाई फरक आनन्द मिल्थ्यो,' उनले भनिन। प्रेमकुमारी आफू केटाप्रति आकषिर्त नहुने र आफूजस्तै केटी मन पर्ने बताउँछिन्। त्यस्तै यौनसाथीका रूपमा उषालाई भेट्टाएपछि उनीहरू खुसी थिए। प्रत्यक्ष भेट नहुँदा बिहान ७ बजेदेखि रातको १२ बजेसम्म एसएमएसमा कुरा भैरहन्थ्यो, प्रेमकुमारीले भनिन्- 'तिमी मन पर्छ भनेर त उनले नै पहिलो पटक भनेकी हुन्।'
उषा प्रेमकुमारीसँग नजिकिएको थाहा पाएपछि उनका श्रीमान्ले स्वयम्भू प्रहरीमा उजुरी गरेपछि केस लम्बिँदै गयो र अन्ततः उनीहरू समलिङ्गी महिला भएको स्पष्ट भयो। त्यसपछि प्रेमकुमारीले भाडामा बस्दै आएको उषाको घर छाडिन। घर छाडेर हिँडेपछि पनि उषाले प्रेमकुमारीलाई छाड्न सकिनन्। सबै कुरा सार्वजनिक भएपछि उषाले श्रीमान्सँग सम्बन्धविच्छेदको मुद्दा दर्ता गरिन्। सम्बन्धविच्छेदको मुद्दामा फैसला भयो। मितिनी नेपाल नामक गैरसरकारी संस्थाको पहलमा फैसला उषा र प्रेमकुमारीको पक्षमा आयो। यतिबेला उषा र प्रेमकुमारी लाजिम्पाटमा डेरा गरेर सँगै जीवन बिताएरहेका छन्। उषालाई श्रीमानले सँगै बस्न दबाब दिइरहेका छन्, तर उनले दुवैतर्फ सम्बन्ध बिगार्न चाहेकी छैनन्। शारीरिक रूपमा उनी प्रेमकुमारीसँग सन्तुष्ट छिन्, तर व्यावहारिक कारण एवं भविष्य सुनिश्चित राख्न श्रीमान् पनि उत्तिकै आवश्यक मानेकी छिन्।
विकास र विनोद
पुल्चोक ललितपुरका विकास राना (३१) र काभ्रेका विनोद लामा (२९) सात वर्षअघि काठमाडौं आउने क्रममा दिल्ली एयरपोर्टमा एक-अर्कासँग परिचित भएका थिए। संयोगले उनीहरू वेटिङ रुमको आडमै रहेको टवाइलेटमा सँगै छिरेका थिए। पिसाब फेरिरहेको अवस्थामा विकासले विनोदलाई मन्द मुस्कानका साथ हेरिरहे। विनोदले पनि उसैगरी हेरे। 'उसले त्यतिबेला त्यस्तै किसिमको यौनजन्य गतिविधि देखायो,' खिरिलो ज्यानका विनोदले विगत सुनाए। ट्वाइलेटबाट बाहिरिएपछि उनीहरूको चिनजान भयो। दुवैलाई उस्तै लिङ्ग मन पर्ने रहेछ भन्ने कुरा खुल्दै गयो। एकले अर्काको प्रशंसा गरे र आफनो वेलीविस्तार सुनाए। 'केटा-केटाबीच प्रेम प्रस्ताव त कसरी राख्ने र ?' पातलो दार्ही सुमसुमाउदै विनोदले लजाउँदै प्रतिप्रश्न गरे।
उतिबेला विनोद किस्मत कलेज कराँची, पाकिस्तानमा अध्ययन गर्दै थिए। विकासचाहिँ राजीव गान्धी मेमोरियल कलेजमा पढ्दै थिए। दिल्ली र कराँचीमा उच्च अध्ययन गरिरहेका ती दुई बिस्तारै नजिक हुन थाले। काठमाडौं आएपछि नियमित भेट हुन थाल्यो। गोप्य स्थानहरूमा डेटिङ पनि हुन थाल्यो। भावना साटासाट हुन थाल्यो। 'हुँदाहुँदा सँगै बस्न थालियो,' उनले भने- 'सँगै बस्न थालेपछि हामीबीच नियमित शारीरिक सम्पर्क पनि हुन थाल्यो।' हामी एक अर्कासँग यौन आनन्द लिन्थ्यौं, लजालु पारामा विनोदले गोप्य कुरा खोले। लामो समयसम्म सँगै बसेपछि यतिबेला विकास राना क्यानाडा पुगेका छन्। यता विनोदलाई परिवारबाट विवाह गरिदिन भनेर केटी खोजिदिएका छन्। 'अझै पढ्छु विवाह गर्दिनँ भनेर टारिरहेको छु,' उनले भने-'विकाससँग फोन र च्याटमा कुरा सेयर हुन्छ विगतका शारीरिक सम्बन्ध र डेटिङका क्षणहरू सम्झेर 'मिस यु' भन्छु।
'परिवारकै दबाबमा अहिलेसम्म चार जना केटी हेरिसकियो तर मलाई केटीप्रति कुनै आकर्षण नै छैन,' उनले भने। उनी विकास नेपाल आएपछि सँगै बस्ने र सँगै जीवन बिताउने सोचमा छन्।
लक्ष्मी र मीरा
हेटौंडाकी लक्ष्मी गलाना र मिरा बज्राचार्यबीच १२ वर्ष पहिले हेटौंडामै भेट भएको थियो। घर पनि नजिकै थियो, ओहोरदोहोर गर्न धेरै समय नलाग्ने। लक्ष्मी स्कुल पढ्दै थिइन, भर्खर १६ वर्ष टेकेकी लक्ष्मीलाई केटीमान्छे बढी मन पर्थे, तर उनलाई आफू समलिङ्गी भएको जानकारी थिएन। केटा साथीहरू पनि धेरै थिए, तर खेल्ने र बोल्ने साथी मात्र थिए केटाहरू। उनले स्कुल पढ्दा देखि नै 'गर्लफेन्ड' बनाएकी थिइन। पढ्दा-पढ्दै उनको विवाह भयो। 'विवाह भएपछि मलाई केटी साथी नै आवश्यक रहेछ भन्ने फिल भयो,' ब्वाइज कट हेयर स्टाइलमा सजिएकी लक्ष्मीले भनिन्। समय बित्दै गयो। अपसेट प्रेसमा काम सिक्ने क्रममा लक्ष्मी र मीराको चिनजान भयो। प्रेसमा काम सिक्ने क्रममा उनीहरू नजिकिए। खेलकुदमा रुचि भएकी लक्ष्मी र मीराको घर ओहोरदोहोर गर्न २० मिनेट मात्र लाग्छ। 'उहाँलाई पनि केटी मान्छे नै मन पर्छ भन्ने कुरा पछि मात्र थाहा भयो, प्रेम प्रस्ताव राख्न असजिलो हुुने रहेछ,' लक्ष्मीले अनुभव सुनाइन्।
यही क्रममा लक्ष्मी काठमाडौं आइन्। उता मीराको बनेपामा विवाह हुने कुरा चल्यो। 'मसँग भेट्न नपाएर उनी धेरै रोइछन्, एक सातापछि म हेटौंडा पुगें', उनले भनिन्। त्यतिबेला मीरा धेरै बिरामी परिन्। एक-अर्कालाई भेट्न नपाएर हामी खुब रोयौं। हाम्रो घरपरिवारमा पनि ठूलो झगडा चल्यो। प्रहरी केससमेत पर्यो। अदालतमा मुद्दा चल्यो। अन्ततः मीराले विष सेवन गरिन्, तर उनलाई लगत्तै अस्पताल लगेर उपचार गरियो। 'उपचारपछि उनी ठीक भएपछि घरपरिवारको दबाब हुँदाहुँदै हामी सँगै बस्न थाल्यौं,' लक्ष्मीले भनिन्। दबाब र तनावका बाबजुद लक्ष्मी र मीरा १२ वर्षदेखि 'लिभिङ टुगेदर' मा छन्।
वासु र मोहनका विदेशी पार्टनर
कपनका वासु गुरागाईं हेन्डसम देखिन्छन्। खँदिलो ज्यान अनि गोलाकार अनुहारका गुरागाईं हँसिला छन्। बाहिरी रूप देखेर धेरै युवती उनीप्रति आकषिर्त हुन्छन्, तर वासु कहिल्यै युवतीप्रति आकषिर्त भएनन्। उनी आफूजस्तै केटाप्रति आकषिर्त हुन्छन्। 'मानसिक एवं भावनात्मक रूपमा म केटीप्रति आकषिर्त हुन्न, मन मिल्ने केटा भए म उही सँग जीवन बिताउन चाहन्छु', उनले भने। हुनतः उनले नेपाली यौनसाथी बनाएका छैनन्। डेटिङ साइटहरूको सहारामा अमेरिकी 'गे' सँग उनको सम्बन्ध जोडिएको छ। ती अमेरिकी केही महिनामा नेपाल आउँदैछन् बासुसँग भेट्न। 'त्यसपछि हामी जीवन कसरी बिताउने भन्ने कुरा सोच्ने छौं,' बासुले आफ्नो सम्बन्धका बारेमा भने- हामीबीच गहिरो सम्बन्ध छ, नेपाली कानुनमा व्यवस्था भए विधिपूर्वक विवाह गर्नेछौं।'
सुदूरपश्चिम बैतडीका मोहन शर्मा काठमाडौं बस्छन्। अग्लो र सुरिलो ज्यान भएका मोहनले अमेरिका बसिरहेका ७३ वर्षीय वृद्धलाई आफ्नो यौनसाथी बनाएका छन्। 'मलाई चाहिँ अलिक पाको उमेरका 'गे' मन पर्छन्,' उनले बताए। 'मैले ४२ वर्ष उमेर पार गरेका गेसँग मात्रसम्बन्ध राखेको छु,' उनले भने। उनले डेटिङ साइटमा नै अमेरिकी पार्टनर भेट्टाएका हुन्। 'च्याट गफमै मन र भावना मिल्यो अनि प्रेम चक्कर सुरु भएको हो।' उनी चाँडै नेपाल आउने भएका छन्। 'त्यसपछि हाम्रो जिन्दगीको नयाँ अध्याय सुरु हुन्छ', उनले भने।
बासु र मोहनलेजस्तै डेटिङ साइटबाट यौनसाथी बनाउने चलन नेपालमा पनि बढ्दैछ। मेलरिडर डटकम, गेफाइन्ड फाइन्डर डटकम, सोलम्याटस द गार्जियन डटकम, मिगल टु डटकमजस्ता डेटिङ साइटहरू नेपाली समलिङ्गीहरूको रोजाइमा पर्छन्। यिनै साइटको सहयोगमा धेरै समलिङ्गीले आफूलाई मन परेेको यौनसाथी बनाउँछन्। 'समाजमा खुल्न नसक्ने अर्थात् पहिचान देखाउन नचाहने समलिङ्गीहरू डेटिङ साइटमार्फत आफनो कुरा निर्धक राख्न सक्छन्,' समलिङ्गी अधिकारकर्मी रोशन मेहता भन्छन्- 'इन्टरनेट नै समलिङ्गीहरूको असल साथी बनेको छ।'
यसरी गरिन्छ समलिङ्गी सेक्स
समलिङ्गी महिला तथा पुरुषहरूविपरीत लिङ्गीहरूभन्दा समलिङ्गी यौनसम्पर्कमा रुचि राख्छन्। स्वभावले नै उनीहरू यौनसम्बन्धप्रति उदार पनि हुन्छन्। गे अर्थात् पुरुष समलिङ्गी पुरुषसँगै र लेस्बियन अर्थात् महिला समलिङ्गी महिलासँग नै यौनआनन्द लिन्छन्। पुरुषहरू मुखमैथुन र गुद्वारमैथुनबाट आनन्द लिन्छन्। उनीहरू एकआपसमा चुम्बन, आलिङ्गन, गुदद्वार मैथुन र यौनाङ्ग खेलाएर आनन्द लिन्छन्। महिला समलिङ्गीहरू भने एकआपसमा चुम्बन, आलिंगन गरेर वा स्तन र योनिमा औंला प्रवेश गर्न लगाएर आनन्द लिन्छन्।
रोशन मेहता, समलिङ्गी अधिकारकर्मी
नेपालमा समलिङ्गीहरूको अवस्था कस्तो छ ?
एकदमै नाजुक छ। समाज उदार नभएकाले र कानुनी मान्यता नपाएकाले उनीहरू गुम्सिएर बसेका छन्। मानसिक रूपमा तनावमा बाँचिरहेका छन्।
समलिङ्गी विवाहले कानुनी मान्यता प्राप्त गर्ने सम्भावना कत्तिको छ ?
नेपाल लोकतान्त्रिक व्यवस्था भएको देश भएकाले चाँडै समलिङ्गीहरूका पक्षमा कानुन बन्ने सम्भावना छ।
समलिङ्गीहरू नेपालमा कस्तो कानुन बनोस् भन्ने चाहन्छन् ?
सबैभन्दा पहिले राज्यले समलिङ्गीहरूलाई पहिचान खुलाएर आउन सक्ने वातावरण बनाओस्। परिवारले जबरजस्ती विवाह गरिदिने परिपाटी अन्त्य हुनुपर्छ, सबैले समलिङ्गीहरूको मानसिकता बुझिदिनुपर्छ। समान लिङ्गीसँग कानुनी रूपमा सँगै बस्ने र जिन्दगी बिताउने अवसर प्रदान गरिनुपर्छ।
नेपालको कानुन
नेपालमा समलिङ्गी विवाहलाई कानुनी मान्यता दिने कि नदिने भन्ने विषयमा अध्ययन गर्न सर्वोच्च अदालतले ६ पुस २०६४ मा सात सदस्यीय समिति गठन गरेको थियो। समितिले अहिलेसम्म कुनै प्रतिवेदन सार्वजनिक गरेको छैन। केही वर्षअघि सर्वोच्च अदालतले उमेर पुगेका जोसुकै दुई जना सँगै बस्न पाउने 'लिभिङ टुगेदर' को कानुनी व्यवस्था गरिदिए पनि समलिङ्गी विवाहलाई अझै मान्यता प्रदान गर्न सकेको छैन। स्वास्थ्य मन्त्रालयका डाक्टर कविराज खनाल सदस्य सचिव रहेको अध्ययन समितिले प्रतिवेदन बुझाउने तयारी गरिरहेको छ।
प्रतिवेदनका विषयमा केही मतभिन्नता पनि देखिएका छन्। अध्ययन समितिका सदस्यसमेत रहेका हरि फुयाँलका अनुसार समलिङ्गी विवाहलाई कानुनी रूप प्रदान गर्दा 'यौनसाझेदार'का रूपमा दिने कि 'समानलिङ्गी विवाह' का रूपमा दिने भन्ने विषयमा कुरा मिलेका छैनन। 'समग्रमा स्थिति सकारात्मक छ, समलिङ्गी अधिकारका विषयमा सरकारले सकारात्मक कदम चाल्ने विश्वास गर्न सकिन्छ,' उनले भने। यसअघि आफूले इच्छाएअनुसार आफूले रुचाएको जोकोहीसँग बस्न पाउने प्रावधान अदालतले गरिसकेको छ। यौनसाथीका रूपमा बसे पनि सम्बन्धविच्छेद भएको खण्डमा त्यसपछिको कानुनी व्यवस्था स्पष्ट छैन। कानुनी व्यवस्था नभएका कारण समलिङ्गीहरू मात्र होइन, तेस्रोलिङ्गी, अन्तरलिङ्गी तथा दुईलिङ्गी समुदायका सदस्यहरूले गम्भीर संकट बेहोरिरहेको सुजन पन्त बताउँछन्।
स्वतन्त्रताको खोजी
नेपालमा समलिङ्गी सम्बन्धलाई विकृतिका रूपमा लिने चलन अझै कायमै छ। समलिङ्गी सम्बन्ध कायम गर्न नपाउँदा कतिपय युवा बिदेसिनु परेको मात्र नभै आत्महत्यासम्म गर्नुपरेको नीलहीरा समाजको दाबी छ। यस्तो संकटका बाबजुद पनि विदेशी नागरिक नेपालमा आएर विधिपूर्वक समलिङ्गी विवाह गरेर नेपाल सरकारलाई चुनौती दिइरहेका छन्। हालै मात्र बंगलादेशी समलिङ्गी जोडीले नेपाल आएर विधिपूर्वक विवाह गरेका थिए। केही वर्षअघि मात्र अमेरिकी समलिङ्गी जोडीले दक्षिणकाली मन्दिरमा विधिपूर्वक विवाह गरेका थिए। यद्यपि नेपाली समलिङ्गीहरूले विधिपूर्वक विवाह गर्न सकेका छैनन्। त्यस्तो विवाहलाई नस्विकारिने तथा त्यसले कानुनी मान्यता नपाउने भएकाले नेपालका समलिङ्गीहरूले स्वतन्त्रता खोजिरहेको, समलिङ्गी तथा तेस्रो लिङ्गीका विषयमा कलम चलाइरहेका पत्रकार नरेश फुयाँल बताउँछन्। 'स्वतन्त्रताको सीमा कहाँसम्म हो भन्नेचाहिं सरकारले कानुनी रूपमा प्रस्ट पार्नुपर्छ', फुयाँलले भने।
सन्तानको चाहना
अनुभव सुनाउने सबै समलिङ्गीले विवाह गर्ने र सन्तानको रहर रहेको बताए। उनीहरूले टेस्टट्युब बेबी वा अन्य प्राविधिक उपायबाट सन्तान जन्माउने रहर पनि व्यक्त गरेका छन्। त्यसका अतिरिक्त धर्मपुत्री, धर्मपुत्र पाल्ने चलन पनि बढ्दै गएको छ।
विनोद लामा, अध्यक्ष
गे एन्ड लेस्बियन सेक्स्युयल माइनोरिटी नेटवर्क, नेपाल
कुनै व्यक्ति समलिङ्गी हो भनेर चिन्ने आधार के हो ?
झट्ट हेर्नेबित्तिकै गे र लेस्बियन छुट्टयाउन सकिँदैन, तर उसको हाउभाउ तथा एक-आपसमा गर्ने व्यवहारले केही मेसो पाउन सकिन्छ। एउटा गेले केटा मान्छेलाई र लेस्बियनले केटी मान्छेप्रति कस्तो व्यवहार गरिरहेको छ, गहिरिएर बुझेपछि मात्र अर्थात यौनिक व्यवहारबाट पहिचान छुट्टाउन सकिन्छ। पहिचान छुट्टयाउन नसक्नेहरूले आजभोलि सोसियल साइटको प्रयोग गरेर आफ्नो परिचय दिन थालेका छन्।
नेपालमा समलिङ्गी जोडीहरूको संख्या कतिजति होला ?
यति नै त भन्ने छैन, तर पनि सरदर ६ सयजति जोडी बनेर 'लिभिङ टुगेदर' बसिरहेका छन्। पहिचान नखुलेकाहरू त लाखौंको संख्यामा छन्।
समलिङ्गीहरूलाई त समाजको विकृतिका रूपमा पनि लिइन्छ नि !
बुझाइको कमी हो। हाम्रो समुदायका बारेमा सबैले यथार्थ कुरा बुझन सकेका छैनन्। सरकारले पनि हामीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न सकिरहेको छैन। कुनै पनि व्यक्ति आफूले चाहेर समलिङ्गी बन्दैन। यो त प्राकृतिक देन हो। यसलाई सबैले स्वीकार गर्नुपर्छ।
समलिङ्गीहरूलाई सन्तानको चाहना हुँदैन ?
नहुने कुरै छैन, तर सृष्टि चलाउन केटा र केटीबीच नै विवाह हुनुपर्छ भन्ने छैन। विभिन्न प्रविधिको सहायताले समलिङ्गीहरूले पनि सन्तान जन्माउन सक्छन्। समान लिङ्गबीचको सेक्सले सन्तान उत्पादन नहुने भएकाले हामी टेस्टट्यूब प्रयोग गर्न सक्छौं। त्यसका लागि आर्थिक व्यवस्थापनमा समस्या पर्ने मात्र हो। समलिङ्गीहरू पनि समाज चलाउन सक्षम छन्। मात्र कानुनी व्यवस्था आवश्यक छ।
समलिङ्गी विवाह दीर्घकालीन हुन सक्छ ?
दीर्घकालीन त केटा र केटीको विवाह पनि हुन सकेको छैन। कतिपय यस्ता विवाह एक-आपसमा यौनिक विकर्षणका कारण टुटेका छन्। परिवार र समाजको दबाबका कारण कतिपय गे र लेस्बियनहरूको विवाह भएको छ, तर उनीहरूको वैवाहिक जीवन सुखी हुन सकेको छैन।
समलिङ्गीहरूले सरकारबाट के अपेक्षा गरेका छन् ?
स्वतन्त्र रूपमा बाँच्न पाउने र विवाह गर्न पाउने कानुनी व्यवस्था होस। समाजमा समलिङ्गीहरू पनि हुन्छन् है भन्ने चेतना फैलाइयोस्।
'लिभिङ टुगेदर'लाई व्यवस्थित बनाउनु पनि आवश्यक छ। यहाँ तेस्रोलिङ्गीलाई मात्र भनेर दातृनिकाय तथा सरकारले सहायता प्रदान गरिरहेको छ, जसका कारण समलिङ्गीहरू अन्यायमा परिरहेका छन्। राज्यले सबै अल्पसंख्यक समुदायप्रति समान व्यवहार गर्नु आवश्यक छ।
प्रेम समलिंगीहरूको
- संगीता रौनियार
अमेरिकाको क्यालिफोर्निया राज्यमा 'गे' र 'लेस्बियन' विवाहलाई अनुमति प्रदान गरिएसँगै त्यहाँ समलिङ्गी विवाह गर्नेहरूको ताँती नै लाग्यो । छिमेकी मुलुक भारतमा पनि अघिल्लो वर्षको २ जुलाईका दिन १ सय ६० वर्ष पुरानो कानुनलाई तोडेर समलिङ्गीहरूलाई साथै बस्ने र विवाह गर्ने मञ्जुरी अदालतले दिएको थियो । विश्वका १ सय २६ देशमा यस्तो सम्बन्धलाई मान्यता प्रदान गरिएको छ भने विश्वभरि ५० लाख 'गे' तथा ३० लाखजति 'लेस्बियन' भएको एक अनुमान छ ।
आखिर समलैङ्गकिता के हो ? 'गे' र 'लेस्बियन' के हो ? समलैङ्गकिताअन्तर्गत काम-वासना वा यौनसन्तुष्टि समान लिङ्गको पुरुष वा महिलाहरूले लिन्छन् । मनोवैज्ञानिकहरू भन्छन्- यो क्रिया अनुवांशिक गुणका कारण पुस्तौँपुस्तादेखि चलिआएको छ भने केहीले यसलाई विकृत मानसिकताको द्योतक मान्छन् । यद्यपि समलैङ्गकिता नयाँ विषय होइन तर पनि यो विषय उपेक्षाको सिकार बनेको छ । मानिसहरू भन्छन्- समलैङ्गकिता असामान्य सम्बन्ध हो । जुन विषय असामान्य हुन्छ, त्यो समाजको उपेक्षा र अपहेलनाको कारण बन्छ ।
हाम्रो समाजमा कतिपय समलिङ्गीले चुपचाप आफ्नो सम्बन्ध बनाएका छन् । धेरै अभिभावकलाई थाहा छ, उनीहरूका छोराछोरी यस्तो कार्यमा संलग्न छन् तर पनि उनीहरू विवश छन्, किनभने जब यस्तो सम्बन्ध हुन्छ तब यो पनि एउटा नशाजस्तो रोगका रूपमा विकास हुन्छ । पहिले-पहिले विवाहको कुरा चल्दा आमाबुबा आफ्ना छोराछोरीका लागि योग्य र संस्कारवान् बुहारी तथा ज्वाइँ खोज्थे । पछि गएर छोराछोरी आफ्नो खुसीले प्रेमविवाह गर्न थाले । पछिपछि कतिपय 'गे' र 'लेस्बियन' बन्न थाले । अबका आमाबुबाले यस्ता छोरासँग के भन्नेछन् भने, 'बाबु तिमी विवाह गर, बढी उमेरकी केटी भए पनि हुन्छ, विधवा पनि ओके, अर्को जातको पनि चल्छ तर प्लिज केटीसँग नै विवाह गर।'
यस्तो लतमा परेका व्यक्तिका अभिभावकहरूले कहिलेकाहीँ घर-समाजको डर देखाएर आफ्नो हैसियत मिल्ने युवा-युवतीसँग विवाह गर्न जबर्जस्ती पनि गर्छन् तर यस्तो जबर्जस्ती विवाह सफल हुँदैन । दुवैको जीवन असफल हुनसक्छ । यस्तो स्थितिमा पीडितका आमाबुबालाई पनि 'काउन्सिलिङ' आवश्यक हुन्छ ।
जुनसुकै मानिसले समाजभन्दा बेग्लै केही गर्न खोज्छ भने त्यसले समाजको वक्रदृष्टिको सामना गर्नुपर्छ । धर्मका ठेकेदारहरू सोच्छन्— समाज जुन स्थितिमा छ, त्यो त्यस्तै रहोस् तर समयको निरन्तर प्रवाहका कारण व्यक्तिको सोचमा परिवर्तन आउँछ । त्यसकारण १ सय वर्षपहिले हाम्रो समाज जस्तो थियो आज त्यस्तै छैन, अर्को १ सय वर्षपछि समाजको अवस्था अर्कै हुन्छ ।
समलैङ्गकिताका विषयमा बहसको कमी र उपेक्षाको अर्को कारण के पनि हो भने हाम्रो समाजमा मानिसहरू यौनजस्तो विषयमा खुलेर छलफल गर्दैनन् । हाम्रो समाजमा यस्ता विषयलाई गोप्य मानिन्छ र जुन विषय गोप्य हुन्छ, त्यो विषयमा कौतूहलता हुन्छ । सेक्स हरेक व्यक्तिको शरीरको माग हो तर पनि यो विषय गौणजस्तो मानेर, लाज सम्झेर, वर्जित कुरा मानी हामी यसलाई टाढा राख्छौँ । यस विषयमा कुरा गर्नेलाई हामी नकारात्मक दृष्टिले हेर्छौं । यसकारण सेक्ससँगै समलैङ्गकितालाई पनि नकारात्मक रूपमा हेर्न थालियो ।
समाजका सबै धर्मले यो विषयमा असहमति जनाएका छैनन् तर हरेक धर्मका धर्मगुरुले यस्ता सम्बन्धलाई पाप भनेका छन् । समलैङ्गकिता समाज व्यवस्थाको विरुद्ध छ, यो पाप र अनैतिक कार्य हो । इसाई धर्ममा यस्तो सम्बन्धलाई पापका रूपमा लिइएको छ । हिन्दू धर्ममा अलिकति फराकिलो सोच छ । हिन्दू धर्मग्रन्थहरूमा पुरुष समलिंगीहरूलाई 'किन्नर' तथा स्त्री समलिंगीलाई 'किन्नरी' भन्दै तिनको विशद चर्चा गरिएको छ । उनीहरूको धार्मिक तथा सामाजिक उपस्थितिलाई पनि सहज रुपमा स्वीकार गरिएको छ ।
आजको आर्थिक मन्दीको चापमा कतिपय युवाले उच्च शिक्षा र रोजगारीका लागि घरबाट टाढा गएर बस्नुपर्छ । परदेशमा कुनै आफन्त नातेदार हुँदैनन् । पैसा बचाउने सुरमा साथीसँग एउटै कोठामा बस्नुपर्छ । यस्तै सुख र दुःखको बेला कुनै समय यस्तो सम्बन्धको सुरुवात हुन थाल्छ । पछि-पछि गएर यस्तो सम्बन्ध अझ प्रगाढ हुन्छ तर अरूले चाल पाउँदैनन् । यस्तो सम्बन्ध कहिलेकाहीँ आपसी सहमतिमा बन्छ भने कहिलेकाहीँ डर, धम्की देखाएर पनि हुन्छ ।
हरेक युवाले प्रेमको परिणति विवाहलाई मान्छन् । विवाहको उद्देश्य गृहस्थीसँग सन्तान प्राप्ति पनि हुन्छ तर सन्तानका लागि महिला एवं पुरुष दुवैको आवश्यकता हुन्छ । अहिलेसम्म प्रकृतिले जन्म दिने अधिकार महिलालाई मात्र दिएको छ । समलिङ्गी सम्बन्धमा प्रेम त बढी हुनसक्छ तर सन्तान प्राप्ति असम्भव हुन्छ । संसारका प्रत्येक व्यक्तिले सन्तानको चाहना गर्छन् तर समलिङ्गी सम्बन्धको उपहारस्वरूप सन्तान प्राप्ति हुँदैन । यसको जवाफमा समलिङ्गीहरू भन्छन्, 'यो संसारमा धेरै अनाथ शिशु छन्, हामी कुनै अनाथ शिशुलाई माया दिएर सन्तानको कमी र आफ्नो रहर पूरा पूर्ण गर्न सक्छौँ' तर विचार गर्नुस्- के आमा-बाबुको जस्तो निश्चल प्रेम यस्तो जोडीले दिन सक्छ ? आमाको जस्तो मन कसैको हुँदैन । आउँदा दिनमा समलिङ्गीहरूको समस्या यसरी नै बढ्दै गयो भने मनुष्य जाति नै नष्ट हुने, संहारसम्म पुग्न सक्छ ।
लोकतान्त्रिक समाजमा हरेक व्यक्तिलाई आफ्नो विचार व्यक्त गर्ने, जीवन आफ्नै तरिकाबाट बाँच्ने अधिकार छ । कुन व्यक्ति आफ्नो बेडरुममा के गरिरहेको छ, त्यो उसको निजी कुरा हो । अरूलाई केही हानि-नोक्सानी नपुर्याई स्वतन्त्रतापूर्वक बाँच्ने अधिकार सबैले पाएका हुन्छन् । समलैङ्गकिता पनि एउटा भावना हो जसभित्र पनि माया हुन्छ । मनोवैज्ञानिकहरू भन्छन्, 'समलिङ्गीहरूको मस्तिष्क अन्य सामान्य मानिसको भन्दा फरक हुन्छ।' वैज्ञानिकहरूले के पत्ता लगाएका छन् भने महिला समलिङ्गीहरूको मस्तिष्कमा 'गे' कोशको कमी हुन्छ । जुन कारणले ऊ सामान्य महिलाको अपेक्षा आफूलाई पुरुषका रूपमा बुझ्छन् । यस्तै पुरुष 'गे' को मस्तिष्क सामान्य महिलाको मस्तिष्कको वरिपरि हुन्छ, यस्ता पुरुषको यौन आकर्षण सामान्य महिलाको जस्तो हुन्छ ।
यस विषयमा भारत र अन्य देशमा पनि धेरै चलचित्र बनेका छन् जसमध्ये केहीले त समस्याको खिल्ली उडाएका छन् । अहिले संसारभरका समलिङ्गीहरू खुलेर बाहिर आएका छन् । नारा, जुलुसद्वारा उनीहरू आफ्नो एकजुटता र एकता प्रदर्शित गर्छन् । यस सम्बन्धमा समलिङ्गीहरूका अगुवाहरू भन्छन्, 'अब समलिङ्गीसँग सम्बन्धित विषयमा पर्दा हालेर काम चल्दैन । किनभने यो व्यक्तिगत स्वतन्त्रतामाथि हमला एवं कुठराघात हो । विश्वका धेरै देशमा यस्तो सम्बन्धले मान्यता प्राप्त गरिसकेको छ भने अरू देशमा किन यसलाई अछुतो मान्ने ? समलिङ्गीहरूलाई आफ्नो अभिव्यक्ति दिने पूर्ण अधिकार छ । यस्तो सम्बन्धको एउटा फाइदा के छ भने उनीहरूबीच धेरै कलह, झैझगडा अनि एक-अर्कासँग बढी अपेक्षा हुँदैन । उनीहरू आफ्नै दुनियाँमा रमाउँछन् ।
यति हुदाहुँदै पनि समाज मन खोलेर यस्तो सम्बन्धलाई स्वीकृति दिन तयार छैन । योग गुरु बाबा रामदेवले यस्ता व्यक्तिलाई योग र संयमसँगै काउन्सिलिङद्वारा सुधार्न सकिन्छ भनेका छन् । जे होस्, हरेक व्यक्तिलाई आफ्नो जीवन आफूखुसी बिताउने अधिकार हुन्छ तर पनि समाजको नियममा बाँच्न सक्नु राम्रो ।
- http://www.ekantipur.com/saptahik/article/?id=14769
Loading...
