भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोस
अबुजा, ३ कात्तिक । विश्व स्वास्थ्य सङ्गठनले सोमबार नाइजेरियालाई औपचारिक रूपमा इबोलाबाट मुक्त मुलुकको रूपमा घोषणा गरेको छ । यस मुलुकमा इबोलाका जीवाणु सङ्क्रमण हुने र त्यसको प्रभाव देखिने दुई अवधि (इन्कुबेसन पिरियड) अर्थात ४२ दिन दिनसम्म यस घातक रोगको विषाणुयुक्त कुनै पनि विरामी नदेखिएको जानकारी दिइएको छ ।
विश्व स्वास्थ्य सङ्गठनको नाइजेरियाका लागि प्रतिनिधि रुइ गामा भाजले अबुजामा हाल यस रोगको जीवाणु नदेखिएको र नाइजेरियामा यो रोगको सङ्क्रमण समाप्त भएको बताए ।
उहाँले यसले इबोला नियन्त्रण हुनसक्छ भन्ने विश्वलाई देखाएको बताए ।
नाइजेरिया अफ्रिकामा सबैभन्दा बढी जनसङ्ख्या भएको मुलुक हो र यो यस क्षेत्रमा सबैभन्दा बढी तेल उत्पादन गर्ने अर्थतन्त्र पनि हो । सत्र करोड जनसङ्ख्या भएको यस मुलुकमा इबोलाको विषाणु मुलुकभर फैलनसक्ने आशङ्का गरिएको थियो ।
स्वास्थ्य विशेषज्ञहरूले यस रोगप्रति द्रुत रूपमा प्रतिक्रिया देखाएको र यहाँ महामारी फैलन नपाएको बताइएको छ ।
नाइजेरियाको सबैभन्दा ठूलो नगर लागोस तथा तेलकेन्द्र पोट हारकोर्टमा २० व्यक्तिमा यो रोग देखा परेको र तीमध्ये आठको मृत्युभएको थियो । यसै गरी करिब ९०० व्यक्तिमा यो रोग लागेको सङ्केतका लागि अनुगमन गरिएको थियो ।
शुक्रबार सेनेगल पनि इबोलामुक्त मुलुकको रूपमा घोषित भएको थियो भने यसपछि नाइजेरियालाई यसै गरि घोषणा गरिएको छ ।
हाल स्वास्थ्य विशेषज्ञहरूले यस रोगलाई विश्वभर फैलन नदिन प्रयास गरिहेका छन् भने उनीहरूले यी दुई मुलुकलाई पनि नजिकबाट अनुगमन गर्ने बताइएको छ ।
यस वर्षको आरम्भमा अफ्रिकाको पश्चिमी भागमा सङ्क्रमित व्यक्तिमा रक्तस्राव गराउने यो रोग करिब १० हजार व्यक्तिमा देखिएपछि हालसम्म चार हजार ५०० व्यक्तिको मृत्यु भइसकेको छ ।
अर्कोतिर विशेषगरि स्पेन तथा अमेरिकामा पनि यस रोगका विरामी देखा परेको अवस्थामा यो रोग व्यापक रूपमा फैलनसक्ने आशङ्का गरी यसको प्रभावकारी नियन्त्रणको आवश्यकता अनुभव गरिएको थियो ।
यो रोग लागेका व्यक्तिको खोजीको रूपमा नाइजेरियाले आफ्ना सबै विमानस्थल तथा बन्दरगाहमा आउने तथा जाने व्यक्तिहरूमा यस रोगको परीक्षण गरेको थियो ।
नाइजेरियाको छिमेकी क्यामरुनले उसको यस मुलुकसँगको सीमालाई बन्द गरिदिएको थियो भने अबुजाले भने आफ्नो सीमा कतै पनि बन्द गरेको थिएन ।
यहाँ कतै पनि यात्रामा प्रतिबन्ध लगाइएको थिएन तर प्रमुख विमान सेवा एरिक एयरले लाइबेरिया, सियरा लियोन तथा गिनीतर्फको उडान रोकेको थियो । यी मुलुक इबोलाबाट सबैभन्दा बढी प्रभावित भएको देखिएको छ । रासस÷एएफपी
Source News feed from स्वास्थ्य खबर पत्रिका http://ift.tt/1t6NYpi
Posted via IFTTT
